रथी सिग्देल जन्ममिति विवाद प्रकरणः प्रतिलिपिमा जारी मिति नै फरक !

राष्ट्रपति कार्यालय, अख्तियारदेखि गृहमन्त्रालयसम्म उजुरीनै उजुरीको चाङ



काठमाडौं । जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकतामा अर्को विवाद देखिएको छ । रुपन्देहीका सिग्देलले जाजरकोटबाट बनाएको नागरिकताको प्रतिलिपिमा जारी मिति नै फरक देखिएपछि थप संशय देखा परेको हो ।

रथी बढुवाको प्रक्रियामै रहँदादेखि जन्ममितिमा विवादित देखिएका सिग्देलको नागरिकताको विषयमा छानबिनका लागि गृहमन्त्रालयमा २०८१/०२/०६ अर्थात् आइतबार ‘नागरिकताको प्रतिलिपि लिँदा जारी मितिनै फरक परेको बारे’ विषयमा ‘पूर्व सैनिक अधिकृतहरू’बाट परेको उजुरीअनुसार सिग्देलको २०४०/०६/०९ मा जारी भएको नागरिकताको प्रतिलिपिमा चाहिँ जारी मिति २०४०/०४/२९ रहेको खुलेको हो ।

उक्त उजुरीमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थायी ठेगाना भएका विश्वराज सिग्देलका छोरा अशोक राज सिग्देलको २०४०/०६/०९ गते जारी भएको नागरिकतामा उमेर १७ वर्ष भनी प्रजिअ दानबहादुर शाहीले दस्तखत गरेको पाइएको छ । त्यसैरी सोही नागरिकताको प्रतिलपि २०५८/०२/२८ गते जाजरकोट जिल्ला प्रशासनमा लिइएको छ, जसमा सबै व्यहोरा रुपन्देहीकै भएतापनि जारी मिति २०४०/०६/०९ नभई २०४०/०४/२९ कायम भएको पाइएको छ ।’

यसअघि सिग्देलको सेनाको अभिलेख र नागरिकतामा जन्म मिति फरक–फरक देखिएको छ । सेनाको अभिलेखमा २०२३/१०/१९ रहेकोमा प्रतिलिपि नागरिकतामा २०२३/०४/२९ रहेको पाइएको छ भने त्रिवि रजिष्ट्रेसनको परिक्षा नियन्त्रण कार्यालयको अभिलेखमा २०२१/१२/१९ लाई संशोधन गरी  २०२३/१०/१९ बनाइएको पाइएको छ ।

 

राष्ट्रपति कार्यालयमा उजुरी

त्यस्तै सिग्देलविरुद्ध राष्ट्रपति कार्यालयमा समेत उजुरी परेको छ । सेनाको नेतृत्व तहमा पुगेका व्यक्ति नै विवादास्पद हुँदा सेनामै समस्या आउने भन्दै न्यायगत निर्णय गरिदिन भन्दै उजुरी परेको हो ।

सिग्देलमाथि उच्चस्तरीय न्यायिक समितिमार्फत छानविन गर्न माग गर्दै सूर्यविनायक ७ की कान्छीमाया तामाङको नाममा उजुरी परेको हो । जन्म मिति कीर्ते गरिएका प्रमाणसहित उजुरी परेको हो ।

सिग्देलको वास्तविक जन्ममिति २०२१/१२/ १९ भएकोमा पछि २०२३/१०/१९ बनाइएको उल्लेख छ । रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेर नागरिकताको प्रतिलिपि बनाएका थिए ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै जन्ममिति सच्याएको भेटिएपछि जन्ममिति सम्बन्धी विवाद प्रस्ट देखिएको छ ।

नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।

जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए ।

नेपाली सेनामा आगामी २४ भदौमा नेतृत्व परिवर्तन हुँदैछ । त्यसका लागि सिग्देल नै पहिलो दाबेदारका रुपमा रहेका छन् । तर, सिग्देलको उमेरसम्बन्धमा त्यसअघि नै छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरिएको छ ।