

बसको ठक्करबाट सशस्त्रका हवल्दारसहित ३ घाइते

दाङ । दाङमा बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
घोराही–लमही सडक खण्ड अन्तरगत घोराहीबाट लमही जाँदै गरेको ना ४ ख ५५३५ नम्बरको बसले आइतबार साँझ ६ बजे घोराही उपमहानगरपालिका ३ मसोटको ओरालोमा बा ८९ प २४८६ र रा ५ प ९७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी दाङको लमही नगरपालिका – ४ घर भइ प्यूठानमा कार्यरत ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार पुनिराम चौधरी, उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही ठाउँका २६ वर्षीय प्रवेशकुमार चौधरी र अर्को मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय पंकज चौधरी घाइते भएका छन्।
उनीहरु तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ ।