

तुलबहादुर र मिना घरमै मृतावस्थामा भेटिए

कावासोती । पूर्वी नवलपुरको मध्यविन्दु-१२ बेलहानीमा श्रीमान् श्रीमती मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार श्रीमान तुलबहादुर कुमाल र श्रीमती मिना कुमाल घरमै मृतावस्थामा भेटिएका छन् ।
स्थानीयका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनीति गर्दा दुवैजना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साँढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।
श्रीमती मिना कुमालको टाउकोमा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका छन् । प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटनास्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिलेनै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।
स्थानीयले भने श्रीमानले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेका छन् ।
यसअघि पनि श्रीमानश्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताए ।