

भारतको नैनीतालमा दुर्घटनामा परी ७ नेपालीको मृत्यु (नाम ठेगानासहित)

महेन्द्रनगर । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबईका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।
घटनास्थल वरपर नेपालीहरू सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताए ।