नेपाल प्रहरीमा २ डिआईजीको दरबन्दी थपियो, को–को हुने भए डिआईजी ?



काठमाडौं । नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुई जना डिआइजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो ।

साइबर ब्युरोका एसएसपी नबिन्द अर्याल र केनाइनकी एसएसपी देवती गुरुङको करिब एक वर्ष मात्रै अवधि बाँकी रहेको अवस्थामा संगठनको आवश्यकताका लागि उक्त दुई पद सिर्जना गरिएको हो ।

साइबर ब्युरो र केनाइनमा अर्याल र गुरुङ जस्तो अनुभवी अधिकारी तयार गर्न दशकौँ लाग्नसक्ने र उमेरअवधि रहनेकोले विशेष (अवकाशसँगै एसएसपी नै कायम हुने) पद सिर्जना प्रक्रिया अघि बढाइएको थियो ।

अर्याल र गुरुङको अवकाशसँगै ती दुवै दरबन्दी खारेज हुनेगरी यो दरबन्दी सिर्जना गरिएको हो ।