बालेन लेख्छन्, ‘बोर्ड हराएको सूचना’



काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई गुहारेको छ ।

महानगरपालिकाले महानगरक्षेत्रभित्र रहेको चक्रपथ सुधार आयोजनालाई समयमै सम्पन्न गर्नका लागि कलंकीदेखि महाराजगञ्चमा राखिएका  ९ वटा बोर्ड हराएको जनाउँदै चोरीको घटनालाई अनुसन्धान गरी कारबाहीका लागि परिसरमा निवेदन दिएको हो ।

सो सम्बन्धमा काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत् बोर्ड हराएको सूचना भन्दै २०१५ मा सक्नु पर्ने काम २०२४ सम्म पनि नसकिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बालेनले अगाडि लेखेका छन्,

बोर्ड हराएको सुचना ।

२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समयसकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।

यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।