

आजको मौसमः कोशी र बागमतीमा हल्का वर्षा, यस्तो छ अन्य प्रदेशमा मौसमी अनुमान

काठमाडौं – पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका केही स्थानमा बुधबार पनि वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेश र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ।