प्रहरी जवानको बढुवामा ढिलाई, ‘जवानलाई मात्र संगठनले जहिले किन हेप्छ ?’



काठमाडौं । नेपाल प्रहरीको जवानबाट सहायक हवल्दार पदमा बढुवामा ढिलाई भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सहायक हवल्दारबाट हवल्दार बढुवा निकालेको करिब २ महिनासम्म पनि जवानबाट सहायक हवल्दारको बढुवा ननिकाले पनि जवानहरुको गुनासो सुनिन थालेको छ ।

यसअघि माघ २३ गते १०४५ सहायक हवल्दारहरुलाई हवल्दारको बढुवा सूची प्रकाशित गरेको संगठनले त्यसपछि लगत्तै हुनुपर्ने जवानबाट सहायक हवल्दारको भने बढुवा अहिलेसम्म गर्न सकेको छैन ।

नियमित रुपमा हुनुपर्ने बढुवा यसअघि फागुनको मध्यसम्म भइसक्ने जनाइए पनि हालसम्म हुन नसक्नु संगठनको जवानहरुप्रतिको उदासीनता नै प्रमुख कारण भएको बढुवाको प्रतिक्षा सूचीमा रहेका एक जवान बताउँछन् । उनी भन्छन्, ‘नियमित निकाल्दै आएको बढुवा जवानबाट सहायक हवल्दार बढुवा किन ढिला गरियो ?’ उनी थप्छन्, ‘जवानलाई मात्र किन जहिले संगठनले हेप्छ ?’

यसपटक बढुवा हुनेमा २०७० सालमा जवानमा भर्ना भएका करिब १६०० जना नियमित प्रक्रिया अनुसार बढुवा हुनुपर्ने हो । त्यतिबेला भर्ना भएका मध्ये २ हजार ३ सय करिब २ वर्ष अघिनै सहायक हवल्दारमा बढुवा भइसकेकोमा सोही ब्याचका जवानहरुको भने अझै बढुवा भएको छैन ।

संगठनले यसअघि माथिल्लो दर्जाबाट बढुवा गर्दै लगेकोमा हवल्दारसम्मको बढुवा निकालिसकेको छ । नियमित निकालिँदै आएको बढुवा प्रक्रिया जवानहरुमै आएर नियमित नगरिएपछि जवानहरु हतोत्साहित नहोलान् भन्न सकिँदैन ।

यससँगै नेपाल प्रहरीमा प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा पनि त्यतिकै अड्किएर बसेको छ । विगत लामोसमयदेखि रिक्त रहेको एसपीका लागि बढुवा निकाल्नुपर्नेमा रिक्त दरबन्दीभन्दा धेरै आकांक्षीहरु रहेपछि बढुवा नभएको अनुमान छ । सरकार परिवर्तनसँगै गृहमन्त्रालयमा रवि लामिछानेले जिम्मेवारी लिएसँगै अब छिटै एसपी बढुवा हुने अपेक्षा समेत गरिएको छ ।