

सलामुनले कुर्ता सुरुवालमा देखेको ‘ब्लू’ ड्रेसको सपना, अबको सपना इन्स्पेक्टर !

काठमाडौं । बच्चैदेखि नेपाल प्रहरीको ‘ब्लू ड्रेस’को सपना देखेकी एक युवती हुन् पर्सा जिल्लाको पर्सागढी नगरपालिकाकी सलामुन नेशा ।
मुस्लिम परिवारमा जन्मिएकी सलामुनलाई बाबुआमाले राम्रैसँग पढाएका थिए । फलस्वरुप तराईमा तुलनात्मक रुपमा छिटो बिवाह हुने प्रचलन रहे पनि उनले १८ वर्षसम्म घरजम जोड्नु परेन ।
तर, जब १२ कक्षाको परिक्षा आउने बेला भयो र १८ पनि टेकिन् उनले माइतीघर छाडिन्, तर पढ्न भने छाडिनन् । फागुनमा विवाह भएको सलामुनले वैशाखमा १२ कक्षाको परिक्षा दिइन् । १२ कक्षा पास गरिसकेपछि आफ्नो सानैदेखिको ‘ब्लू ड्रेस’को सपनाको भोकमेट्न नेपाल प्रहरीमा खुलेको प्रहरी सहायक निरीक्षक (असई)को परिक्षा दिने टुंगोमा पुगिन् । अनि जनकपुर पुगेर फर्म भरिन् ।
तराईको ठाउँ, त्यही माथि मुस्लिम परिवारकी बुहारी सलामुन । फर्म भरे पनि फिजिकलका लागि समाजसँग लुकेर अभ्यास गर्नुपर्ने बाध्यतामा थिइन् । उनी बिहान चार बजेदेखि नै दौडिएर, समाज नउठ्दै घर आइपुग्थिन् ।
देशको सेवा गर्ने अभिलाषाका साथ सुरक्षा निकायजस्तो संगठनमा जाने चाहना राखेकी छोरीलाई बाबु–आमाले एक्लै पठाउन सकेनन्, र साथ लगाइदिए सानी बहिनी ।
कहिल्यै पाइन्ट र हाफ पाइन्ट नलगाएकी सलामुनलाई कुर्ता सुरुवालमै हाईजम्प गर्ने बेलामा अलिकति डर थपिएको थियो, तर आत्मविश्वासी र दृढ संकल्पकी पर्याय उनले पास गरेरै छाडिन् । जब दौडको पालो आयो, लगभग फेल भइसकेको अवस्थाबाट उनलाई बहिनीले जगाइन्, ‘दिदी तेरो यति टाइम छ, अब तँ फेल हुन्छेस्, एक राउण्ड अझै छ, जसरी पनि पास गर’ भनिन्, अनि बहिनीकै अनुहार हेर्दै दौडिएकी सलामुन अन्ततः पास भइन् ।
जागिर खाइसकेपछि अध्ययनलाई निरन्तरता दिएकी सलामुन अहिले स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । श्रीमान् विदेशमा, प्रहरीको ड्युटी, कलेजको कक्षा अनि दुई वर्षे छोराको हेरचाहका लागि राम्रोसँग समय व्यवस्थापन गरिरहेकी सलामुनको अबको इच्छा भनेको प्रहरी निरिक्षक (इन्स्पेक्टर) बन्ने छ । उनी भन्छिन्, ‘उपरवालाले साथ दियो भने इन्स्अल्लाह इन्स्पेक्टर हुनेछु भन्ने आशा छ ।’ –कागजपत्र