‘रक गायक’ उगेशः विश्वभर लोकप्रिय, नेपालमा गुमनाम तर बढ्यो आवतजावत



काठमाडौं । उनी नेपाल पटकपटक आउँछन्, कार्यक्रम गर्छन् जान्छन् । तर, निश्चित दर्शक र आयोजक बाहेककालाई पत्तै हुँदैन । मानौं, एक चर्चित रक गायकको नेपाल आवतजावत गोप्य रहँदै आएको छ ।

गहिरो आँखाहाम्रो गीतजस्ता चर्चित गीतका गायक उगेश लिम्बू यतिखेर नेपालमा छन् । जो, नेपाली गीतका लागि जति चर्चित छन्, त्योभन्दा बढी अंग्रेजी गायनमा लोकप्रिय छन् । उनका ग्लोबल्ली श्रोता असंख्य छन् ।

सन् २००४ देखि न्युयोर्क बस्दै आएका रक गायक उगेश यसपटक व्यक्तिगत कामको सिलसिलामा नेपालमा आएका हुन्, तर, उनलाई भ्याइनभ्याई छन् ।

गीतकार तथा कम्पोजरसमेत रहेका उगेशले कुराकानीको सुरुमै भने, ‘थोरै समयका लागि नेपाल आएको हुँ, तर यही अवधिमा धेरै काम गर्र्नुछ । विभिन्न कन्सर्टका आलावा केही गीत रेकर्डिङ र भिडियो पनि बनाउनुपर्ने भएकाले एकदमै व्यस्त भएको छु ।

सिंगापुरमा जन्मे हुर्केर न्युयोर्कमा बस्दै आएका उगेश अंग्रेजी र नेपाली गीतका आलावा हिन्दी तथा सुफी पनि गाउँछन् । उनी सिंगापुर, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा चर्चित छन् ।

डग एण्ड बोण्डस्, ‘रेड विन्स एण्ड ससेस्जस्ता चर्चित अंग्रेजी गीतका गायक उगेश भन्छन्, ‘मिडियामा आउन नचाहेका कारण नेपालमा पब्लिकले कम चिनेको हुनसक्छ । तर,मलाई यहाँ आयोजकले कार्यक्रमका लागि बोलाइरहेको हुन्छ ।

नेपालका प्रमुख शहरहरु जस्तै, काठमाडौं, धरान, इटहरी, चितवन, पोखरालगायतका स्थानमा उगेशले कैयौँपटक कार्यक्रम गरिसकेका छन् । यसपटक पनि नेपालमा बसाइको क्रममा उनी इटहरी, धरान, पोखरा र काठमाडौंमा प्रस्तुत हुँदैछन् ।

यही ८ मार्चमा इटहरी र ९ मा धरानमा प्रस्तुत भएका उनी पोखराको रोलिङ स्टोन रकबारमा १५ मार्चमा प्रस्तुत हुँदैछन् । यस्तै, काठमाडौंमा त्यसको भोलिपल्ट काठमाडौंको ठमेलस्थित क्लव पर्पल हेजमा कन्सर्ट गर्दैछन् । नेपालमा हुने कन्सर्टमा उनलाई नेपाली ब्याकअप ब्याण्डले साथ दिने गरेका छन् भने न्युयोर्कमा उनको आफ्नै ब्याण्ड छ ।

सन् १९९६ मा सिंगापुरमा द अन सिभलाइज नामक एल्बम निकालेर सांगीतिक करिअर सुरु गरेका उगेश त्यो समय वान इयर ओल्ड ब्याण्डमा आवद्ध थिए । उक्त ब्याण्डका उनी ड्रमर तथा भोकलिस्ट थिए । तर, पछिल्लो समय उनी गायक, कम्पोज गीत लेखनलाई प्राथमिकता दिँदै आएका छन् । उगेश भन्छन्, ‘मेरो म्युजिकल करिअर ड्रमर र गितारिस्टबाट सुरु भएको हो । १७ वर्षको उमेरसम्म सिंगापुरमा बसेका उगेशले न्युयोर्क सरेपछि नर्मल एकेडेमिक ब्याण्डबाट सांगीतिक करिअर अगाडि बढाए ।

सिंगापुरमा हुँदा अंग्रेजी गीतमात्र गाएका उगेश भन्छन्, ‘नेपाली गीत गाउनुपर्छ भन्ने सोच थियो । तर, अवसर नै मिलेन । जब अमेरिकामा नेपाली कम्युनिटीसँग घुलमिल हुँदै गयो, त्यसपछि अंग्रेजीसँगै नेपाली र हिन्दी गीत गाउन थालेको हुँ ।

द क्लास, ‘द रोमन्स, ‘ग्रिन डेजस्ता विश्व चर्चित गीतहरुबाट प्रभावित भएर गायनमा लागेका उगेशका ५० भन्दा बढी चर्चित गीत छन् । उनका श्रोता विश्वव्यापी छन् । विस्तारै युगेशको चर्चा नेपालमा समेत हुन थालेको छ । अंग्रेजीबाहेक उगेशका पर्खिरहेछु, ‘गहिरो आँखा, ‘गहिरो आँखा, ‘हाम्रो गीत, ‘पंखको नाममा कलंकजस्ता दर्जनौँ गीतहरु चर्चित छन् ।

हालसम्म उगेशले दर्जनौं देशमा कन्सर्ट गरिसकेका छन् । सन्् २००८ देखि २०१० को बीचमा त उनी कन्सर्टका लागिफस्ट च्वाइज थिए । सिंगापुर र अमेरिका त उनका लागि खेल्ने आँगन जस्तै हो । त्यसबाहेक अष्ट्रेलिया, क्यानडा, दुवई, जापान, कतारलगायतका देशमा पटकपटक कन्सर्ट गरेका उगेश भन्छन्, ‘त्यसबीचमा विश्वका चर्चित रक स्टार तथा गायक/गायिकाहरुसँग पनि स्टेज शेयर गर्ने अवसर मिलेको छ ।