अब कहिले होला त प्रहरीको एसपी बढुवा ? को-को छन् बढुवाको लाइनमा ?



काठमाडौं । चारमहिना भन्दा धेरै समयदेखि प्रतिक्षामा रहेको प्रहरी उपरिक्षक (एसपी) बढुवा फेरि पछि सरेको छ । पछिल्लोपटक सत्ता गठबन्धनमा उलटफेर हुनुअघि बढुवाका लागि अन्तिम तयारी भएको एसपी बढुवा नयाँ सरकार गठन प्रक्रियामै रहेका कारण पुनः ढिला हुने देखिएको हो ।

नयाँ गठबन्धनको सरकारसँगै नेपाल प्रहरीको तालकुदार मन्त्रालय गृहमा नयाँ नेतृत्व आउने सम्भावना प्रबल रहेसँगै एसपी बढुवा फेरि केही ढिलाई हुने देखिएको हो । यसअघि अन्तिम चरणमा पुगेको भनिएको बढुवा प्रक्रिया नयाँ सरकारसँगै केही ढिलाई हुने जनाइएको छ ।

गृहमन्त्रालयमा नयाँ गठबन्धनका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले जोड दिइरहेको जनाइएको छ । तर, गृहमन्त्रालयमा नेकपा एमालेका नेता विष्णु पौडेलको पनि चर्चा चलेसँगै बढुवाको अन्यौलता थप बढेको छ ।

नेपाल प्रहरीको हेडक्वार्टरले विभिन्न कारणले बढुवा गर्न नसकेको एसपी बढुवा अब नयाँ गृहमन्त्री आएसँगै हुने देखिएको हो ।

हेडक्वार्टरले कात्तिक २४ गते ५ जना एसपीहरु एसएसपीका लागि बढुवा सिफारिस भएपछि रिक्त एसपी पदका लागि डिएसपीबाट बढुवाको तयारी गरेको हो । त्यसबाहेक नेपाल प्रहरीमा अन्य ३ गरी जम्मा ८ एसपी खाली रहेको छ । हालैमात्र एसपी रमेश बस्नेत एसएसपीमा बढुवा भएपछि ८ एसपीको दरबन्दी रिक्त भएको हो । प्रधान कार्यालयले बढुवाको तयारी गरेको रिक्त रहेको ८ पदका लागि १२ डिएसपी प्रतिस्पर्धामा रहेका छन् ।

एसपी बढुवाका लागि बरियताको पहिला नम्बरमा डिएसपी प्रदीप बहादुर क्षेत्री रहेका छन् भने दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् । त्यस्तै तेस्रोमा ढकेन्द्र खतिवडा रहँदा चौथोमा यादव ढकाल रहेका छन् । त्यस्तै पाँचौं, छैटौं, सातौं र आठौंमा क्रमशः श्यामबाबु ओलिया, नारायण रञ्जीतकार, निरन्जनदत्त भट्ट र राजन लिम्बु रहेका छन् ।

अहिले बरियतामा पछाडि रहे पनि कतिपय डिएसपीहरु एसपी बढुवाका आकांक्षी देखिएका छन् । त्यस्तै एसपी बढुवाका लागि सन्तोष तामाङ, एकनारायण कोइराला,  अनन्तराम शर्मा र विनोद घिमिरे पनि आकांक्षी हुन् ।