नेपालले दियो १८५ रनको लक्ष्य



काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको हो ।

नेपालको इनिङ्समा आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । दोस्रो विकेटको लागि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखबीच ३५ बलमा ५९ रनको साझेदारी भएको थियो । रोहितले १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए । आसिफ र गुल्शन झाबीच तेस्रो विकेटको लागि ४३ रनको साझेदारी भएको हो । गुल्शनले २५ बलमा ३४ रन बनाएका हुन् । उनले चौका र छक्का प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेल १० बलमा दुई छक्का र एक चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए । कुशल मल्ले ११ बलमा तीन चौकासहित २६ रनको योगदान गरेका हुन् ।

दीपेन्द्रसिंह ऐरी तीन बलमा मात्र एक रन जोडेर आउट भए । करण केसी चार बलमा ९ रन बनाएर आउट भएका हुन् । आरिफ शेख गोल्डेन डक भए ।

सोमपाल कामी  र प्रतिश जिसी समान ६ रनमा अविजित रहे ।