

ड्युटीमै रहेका सई खत्रीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते

काठमाडौं । राजधानीको कोटेश्वरस्थित ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) लाई बसले ठक्कर दिएको छ ।
कोटेश्वर चोकमा ड्युटीमा खटिएका सई टोपबहादुर खत्रीलाई जुनेली यातायातको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका सई खत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एयरपोर्टबाट सातदोबाटोतर्फ जाँदै गरेको बसले सडकमा रहेका सई खत्रीलाई ठक्कर दिएको हो ।
जुनेली यातायातको प्रदेश ३ ०१-००५ ख ९७५५ बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । घाइते खत्रीको टाउकोमा चोट लागेको अवस्था गम्भीर रहेको जनाइएको छ ।