

७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।
मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।
२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।