बलम्बु प्रहरी प्रभागभित्रै चल्यो गोली, प्रहरी जवानसहित २ जना घाइते, इन्स्पेक्टर प्रहरी नियन्त्रणमा



काठमाडौं । बलम्बुस्थित प्रहरी प्रभागमा गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार साँझ गोली चलेको जनाइएको छ ।

उक्त गोली लागेर ‘बडीगार्ड’ घाइते भएको जनाइएको छ । इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको जनाइएको छ ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । साथै एक सर्वसाधारण पनि घाइते भएको जनाइएको छ । उनीहरु दुवै जनाको सशस्त्र अस्पताल बलम्बुमा उपचार भइरहेको जनाइएको छ ।

अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।