एसीसी प्रिमियर कपः चुक्याे नेपाल, मलेशिया एशिया कपका लागि छनाेट



काठमाडौं । एसीसी महिला प्रिमियर कपमा नेपाल मलेशियासँग पराजित भएको छ ।

एशिया कपका लागि जित्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल मलेशियासँग ४ विकेटले पराजित भएको हो ।

यस हारसँगै नेपालको एशिया कपमा खेल्ने सपना तुहिएको छ ।

एशिया कप प्रवेशका लागि आजको खेल जित्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ११५ रन बनाएर ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

त्यसपछि मलेशियाकी इलिसा हन्टरको उत्कृष्ट पारीले मलेशियाले ३ बल बाँकी रहँदै उक्त लक्ष्य पूरा गर्दै एशिया कपका लागि प्रवेश गर्न सफल रह्यो ।

मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन् । उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए । नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् ।

खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् । उनले दुई छक्का र एक चौका हिर्काइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।