रथीका लागि बढुवा सिफारिस उपरथी थापाविरुद्ध मन्त्रालयमा पनि पर्यो उजुरी



काठमाडौं । नेपाली सेनामा रिक्त रहेको रथी बढुवाका लागि सिफारिस भएका उपरथी निर्मल कुमार थापाविरुद्ध रक्षा मन्त्रालयमा निवेदन परेको छ ।

उनलाई सेनाको बढुवा समितिले एक महिना अघि नै बढुवा सिफारिस गरे पनि नक्कली शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि हालसम्म बढुवा हुन सकेका छैनन् ।

पूर्व सैनिक अधिकृतहरुले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि मन्त्रालयमा निवेदन दिएका हुन् ।

थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याइ त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रिक्त रहेको रथी दरबन्दीका लागि उनको गत पुस १२ गते नै सिफारिस भए पनि हालसम्म बढुवा भइसकेका छैनन् । यसअघि उनको शैक्षिक प्रमाणपत्रका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन परेको थियो ।

यसअघि शीर्षबरियतामा रहेका तत्कालिन उपरथी ताराध्वज पाण्डेले नागरिकतामा कैफियत देखिएपछि राजीनामा दिएका थिए ।