‘प्याड’को रकममा भ्रष्टाचार गर्ने ५ विरूद्ध अख्तियारद्वारा मुद्दा दायर



काठमाडौं । सप्तरीको रुपनी गाउँपालिस्थित सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो । उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँमा खरिद विक्री गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ ।

आरोपपत्रमा लक्ष्मी ट्रेडर्सकी ललिताकुमारी पनि मुख्य कसुरदारहरुलाई सरह सजाय गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ ।