

जहाज उडाउन ढिला गरेपछि पाइलटलाई मुक्का

नयाँ दिल्ली । नयाँ दिल्लीबाट गोवातर्फ उड्न लागेको जहाज उड्न घन्टौँ ढिला भएको भन्दै यात्रुले आइतबार पाइलटलाई मुक्का हानेका छन्।
भारतीय समाचार संस्था पीटीआईका अनुसार इन्डियो एयरलाइन्सको उडानबाट दिल्ली-गोवा उड्दै गरेका एक यात्रुले पाइलटमाथि मुक्का हानेका थिए।
त्यस क्रममा विमान परिचारिकाले ती पाइलटलाई रोक्ने प्रयास गरेकी थिइन्। पाइलटलाई मुक्का हानेपछि ती यात्रुले ‘उडाउनु छ भने उडाऊ नत्र ढोका खोलेर जान देऊ’ भनेका थिए।
भारतमा बाक्लो कुहिरोका कारण आइतबार ४ सयभन्दा बढी जहाजका उडान प्रभावित भएका छन्।
इन्डियो एयरलाइन्सले यसबारे सम्बन्धित निकायमा उजुरी दिइसकेको पनि पीटीआईले जानकारी दिएको छ।