

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस, देशैभर सार्वजनिक बिदा

काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ ।
सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरिँदैछ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए।
उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो। सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।