

विहेको जग्गेबाटै दुलाहा र पण्डित पक्राउ

दाङ । तुलसीपुरमा बालविवाह गर्दै गरेका केटा र पण्डित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८, कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा छन् ।
बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मण्डपबाटै दुलाहा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।
केसीले बिहीबार तुलसीपुर–५, रानीजरुवाकी १४ बर्षीया बालिकालाई भगाएर घरमा ल्याई विवाह गर्दै गरेको अबस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई शुक्रबार जिल्ला अदालत दाङमा पेश गरी ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।