३० हजार घुस लिएका सई साउदविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं ।  नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार बर्दियाको मैनापोखर ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

उनलाई त्यस कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अख्तियारले साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको हुँदा निज पवन साउदलाई तीस हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३ (१) (ख) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।