मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन, तुरून्त बर्खास्त गर्न चाैतर्फी दबाब



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले पशुपतिक्षेत्रमा आन्दोलन गरेका छन् ।

बिहीवार उनीहरुले मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् । प्रहरीले उनीहरुलाई भण्डारखालबाट पशुपति क्षेत्र विकास कोषको अफिस जान रोक लगाएको छ ।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

बुधबार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए ।

सोही अभिव्यक्तिपछि उनी आलोचित बन्न पुगेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् । जिम्मेवार व्यक्तिले धर्मबारे विवादस्पद अभिव्यक्ति दिनू गैरजिम्मवार भएको बताउँदै बर्खास्त गर्नसमेत माग गरिएको छ ।