

एक साताका लागि महेन्द्रनगरमा निषेधाज्ञा, यस्तो छ प्रशासनको आदेश

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’
आज राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापना गर्ने बताएको छ । पार्टीले शालिक स्थापना गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महेन्द्रनगर बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शालिक स्थापना हुने क्षेत्र संविधान चोकसहित दशरथ, मदन चोकमा आवजावतमा रोक लगाइएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज आम सभा भइरहेको छ । शालिक स्थापना र आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन कञ्चनपुर पुगिसकेका छन् ।
शालिक स्थापनाविरुद्ध जिल्लाका ८ राजनीतिक दलले विज्ञप्ति निकालेका थिए ।