दक्षिण अफ्रिका पठाउने भन्दै १७ लाख ठग्ने गिरी पक्राउ



काठमाडौं । दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का १८ वर्षीय अन्जेश गिरी छन् ।

गएको शुक्रबार दिउँसो उनलाई काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । अन्जेश काठमाडौं–७, गौरीघाटमा बस्दै आएका थिए ।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

उनले विजय खत्री समेत दुईजनालाई वैदेशिक रोजगारीका निम्ति दक्षिण अफ्रिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति आठ लाख ५० हजार रुपैयाँ लाग्ने उनको भनाइ थियो । दक्षिण अफ्रिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

‘पीडित’बाट पटक–पटक गरी १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भई उनले ठगी गरेको एसपी रेग्मीले जानकारी गराएका छन् ।