

चितईखोला पुल दुर्घटना अपडेटः सोमेश्वर माविका लेखापाल अधिकारीको पनि मृत्यु

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले वाग्मती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार साेही विद्यालयका शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।