

बहुमत दिएका जनतामाथि कम्युनिष्टले गरे विश्वासघातः कांग्रेस नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । “चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन” उनले भने, “अब चुनाव आयो, काँग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।”
वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भने । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए ।