

डोल्पाबाट आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।
चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् ।
उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सिङ, कस्तुरीको दाराजस्तै देखिने छ वटा, बन्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान तारलगायत सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।
पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो ।
भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ ।