

प्रधानसेनापतिका लागि ‘लाइन क्लियर’ गर्न लागेका उपरथी सिग्देलविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)
उपरथी पाण्डे र सिग्देलको उस्तै प्रकृतिको कैफियत देखिएकोले सेवाबाट हटाई कानुनी कारबाही गर्न माग

काठमाडौं । नेपाली सेनामा रिक्त रथी पदका लागि बढुवा भएका उपरथी अशोक राज सिग्देलको उमेरसम्बन्धी कैफियत देखिएकोले सेवाबाट हटाई आश्वक कारबाहीका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आयोगमा बिहीबार दर्ता भएको उजुरीमा जन्म मिति सच्याइएको जनाउँदै यसअघि रथीमा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले अख्तियारद्वारा रक्षा मन्त्रालयलाई दिएको निर्देशनपछि राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उपरथी अशोकराज सिग्देलको हकमा पनि अख्तियारद्वारा छानबिनको माग गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘२०७६ सालमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न रथी प्रभुराम शर्माको अध्यक्षतामा बनाएको छानबिन टोलीले छानबिन गर्दा १०, १२ जना उच्च सैनिक अधिकृतको जागिर च्वाट पारी यी दुई जना पाण्डे र सिग्देललाई उमेर सच्याउने अवसरमा दिएको थियो ।’ साथै उजुरीमा उपरथी सिग्देलले सच्याएको मिति २०४३ भनी अभिलेख गराएको पनि जनाइएको छ ।
उजुरीअनुसार पाण्डे र सिग्देल दुवै जनाको जन्ममिति सच्याउने एउटै प्रकारको काम भएकोले अख्तियारसमक्ष सेवाबाट हटाइ आवश्यक कारबाही गर्न माग गरिएको छ ।
स्मरण रहोस् उपरथी सिग्देलले यसअघि सिफारिस भएका ताराध्वज पाण्डेलाई कारबाहीको माग गर्दै लबिङ गरिरहेका थिए ।, जसअनुरुप पाण्डेले राजीनामा दिएका थिए । अहिले उनी आफैं सोही ‘खाडल’मा परेको पनि देखिएको छ ।
स्मरण रहोस् नेपाली सेनाको उच्च बरियतामा पाण्डेपछि बरियतामा रहेका उपरथी निर्मल कुमार थापाविरुद्ध पनि नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।