

मुखमा टेप टाँसेको अवस्थामा भरतपुरमा भेटियो बाेराभित्र दुई शव

चितवन । चितवनको भरतपुरस्थित कल्भर्टमा बोरामा बाँधेको अवस्थामा दुईवटा शव भेटिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र पोको पारेको अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जनाए । मृतकहरु दुबै जनाको हात–खुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा फेला परेका छन् ।
खोलामा माछा मार्न गएका एक व्यक्तिले बोरा देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव बोरा बाहिर निकालेको थियो ।
मृतकहरूको सनाखत नभएको र प्रहरीले अनुसन्धान सुरु गरिसकेको डिएसपी पण्डितले जनाए ।