

पटक-पटक महिलामाथि कुदृष्टि लगाउने डीएसपी भट्टराई निलम्बनमा

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन् ।
रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । निलम्बन गरिएसँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।
हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बतायो ।
डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।