

इजरायलमा मारिएका यी ५ को शव नेपाली दूताबासमा, अन्यको शव पाउने प्रक्रिया जारी, बिपीनको अवस्था अझै अज्ञात

काठमाडौं । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेका ज्यान गुमाएकामध्ये पाँच नेपालीको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। लेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार पाँच वटा शव प्राप्त भएको हो ।
नारायणप्रसाद न्यौपाने (घोडाघोडी कैलाली), लोकेन्द्र सिंह धामी (मल्लिकार्जुन दार्चुला), गणेश कुमार नेपाली (जयपृथ्वी बझाङ) , दिपेश राज विष्ट (लेकम दार्चुला) र आशिष चौधरी (जोशीपुर कैलाली) को शव प्राप्त भएको राजदूतावासले आइतबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।
बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले भनेको छ । यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।
आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन् । असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।