सशस्त्रमा काजसम्बन्धी नयाँ मापदण्ड, ६ महिनाभन्दा बढी काज बस्न नपाइने



काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले काजसम्बन्धी नयाँ मापदण्ड तयार गरेको छ । सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकले सशस्त्र कर्मचारीहरूका लागि तयार गरेको नयाँ मापदण्ड कार्यान्वयनका लागि देशभरका सम्पूर्ण इकाईहरूलाई परिपत्र गरिसकेको जनाइएको छ ।

आफ्नो अनुकूलका कार्यालयमा काजमा रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यसहित सशस्त्रले काजसम्बन्धी नयाँ मापदण्ड तयार पारेको हो। नयाँ मापदण्डअनुसार समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई अधिकतम् ६ महिना अवधिका लागि काजमा जानका लागि निवेदन दिन पाउने र सोको अध्ययन एवं अनुसन्धान गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ।

६ महिना काज सुविधापश्चात् कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रुपमा हाजिर हुनुपर्नेछ। तोकिएको समय अवधिभित्र आफ्नो समस्यालाई समाधान गरी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपीयु मिशन, विदेश तालिम तथा अन्य निकायबाट संचालन हुने तालिम, कमाण्ड लगायतका सुविधाबाट वञ्चित हुनुपर्नेछ। साथै थप काज बस्ने कर्मचारीहरूलाई वृत्ति विकासअन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्नेगरी वार्षिक कार्य सम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको मूल्यांकन अंक कम मात्रामा दिइनेछ।

हाल काजमा कार्यरत रहेका कर्मचारीहरूलाई नयाँ मापदण्ड अनुसार असोज २२ गतेदेखि लागू हुनेगरी ६ महिना अवधि दिइने जनाइएको छ । एकपटक काजको सुविधा लिई सकेका कर्मचारीले कम्तिमा २ वर्षसम्म काजको अर्को सुविधा लिन नपाइने व्यवस्था गरिएको छ ।

काजमा कार्यरत कर्मचारीहरूलाई सम्भव भएसम्म सरुवा मिलान गर्दा प्राथमिकता दिई दरबन्दी कायम गर्नुका साथै भूगोल, यातायातलगायतका सुविधाका दृष्टिकोणले सबै कार्यालयहरूमा समान आकर्षण हुन नसक्ने भएको हुँदा संगठनलाई प्राप्त जिम्मेवारी बहन गर्न तोकिएको दरबन्दी संरचना र जिम्मेवारी निर्वाह गर्न देशका जुनसुकै ठाउँहरूमा खटिइ कर्तव्य निर्वाह गर्नुपर्ने भएकाले संगठनले लिएको नयाँ नीतिसँगै सेवा सुविधा र कमाण्ड लगायतका क्षेत्रहरूमा समान अवसर दिइने संगठनको नीति रहेको पनि जनाइएको छ ।