

लहानका अतिविपन्न परिवारलाई अमेरिकी विद्यार्थीको सहयोग

सिराहा । लहान नगरपालिका वडा नं. १५ का अतिविपन्न परिवारलाई स्वच्छ खानेपानीका लागि एक विद्यार्थीले ट्यांकी उपलब्ध गराएका छन् । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको विशेष पहलमा अमेरिकाबाट नेपाल शैक्षिक भ्रमणमा आएका एक विद्यार्थीले लहान–१५ का ३९ घर परिवार र एक विद्यालयलाई खानेपानी ट्यांकी उपलब्ध गराएका हुन् ।
अमेरीकाको क्यालोफोनियाबाट शैक्षिक भ्रमणमा नेपाल आएका २२ वर्षिय ज्याक वोङ्गले लहान – १५ स्थित विकट तथा अति विपन्न बस्तीमा आफ्नो व्यक्तिगत तर्फबाट शुद्ध खानेपानीका लागि विभिन्न सामग्री सहयोग गरेका छन् ।
नगर प्रमुख चौधरीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । ३९ घर सदाय परिवार रहेको वस्तीमा ५ सय लिटर ट्याङ्की सहित बर्षातको समयमा आकाशे पानी संकलन गर्न वाटर गटर नि: शुल्क रुपमा प्रत्येक घरधुरीलाई वितरण गरिनेछ ।
त्यस्तै राजदेवी आधारभूत विद्यालय ढोढनामा १ हजार लिटरको ट्याङ्की १ सय लिटरको वटर फिल्टर पनि सहयोग गर्ने भएको छ ।
नेपालको पहाडी अति विपन्न वस्तीमा शुद्ध खानेपानीको पहुँच नभएकोले खानेपानीको आभाव हुन नदिनका लागि वोङ्गले वाटर ईन नेपाल अभियान संचालन गरी विपन्न परिवारलाई आफ्नो व्यक्तिगत तर्फबाट खानेपानीका लागि चाहिने सामग्री सहयोग गरिरहेका छन् ।
नगर प्रमुख र वडा अध्यक्ष तेज नारायण चौधरीको विशेष पहल र प्रयासमा वोङ्ग उक्त वस्तीमा आएका हुन् । यसअघि आ.व. २०७९/०८० मा नगरपालिकाको आर्थिक सहयोगमा समर्शियल बोडिङ्ग जडान भैसकेको छ ।
त्यसैगरी लहान नगरपालिका, हेल्भिटास नेपाल र भवानी एकीकृत विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा सो वस्तिको प्रत्येक घरधुरीमा शौचालय, भान्सा कोठा सहित आवासिय भवन निर्माणको कार्यपनि संचालनमा रहेका छन् ।