

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेसी आज, आजै फैसला आउला त ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार) का लागि तोकिएको छ ।
उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
‘गौशाला २६’ नामकी जाहेरीवाली युवती भने शनिबारदेखि अस्पताल भर्ना भएकी छिन् । उनले आफूले सेवन गर्ने औषधीको अत्याधिक मात्रा सेवन गरी अस्पताल भर्ना भएको जनाइएको छ ।