

घाँटी रेटेको अवस्थामा भेटियो महिलाको शव

सल्यान । सल्यानको शारदा नगरपालिकामा एक महिलाको हत्या भएको छ । आज (आइतबार) बिहान घाँस काट्न गएकी शारदा नगरपालिका-१४, ढारखानीकी ४७ वर्षीया उर्मिला गिरीको मकैबारीमा हत्या भएको हो ।
मकैबारीमा हत्या गरिएको अवस्थामा उर्मिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । खनालका अनुसार गिरीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
‘म अहिले घटनास्थलमै छु, यसबारे थप अनुसन्धान सुरु गरिएको छ,’ खनालले थपे, ‘अहिले नै घटना के कति कारण भयो भन्न सकिने अवस्था छैन । अनुसन्धानका लागि प्रहरी गम्भीर भएर लागेको छ ।’ प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत घटनास्थलमा ल्याउने तयारी गरेको छ ।