

प्रहरीको सफलताः ५७ दिनपछि बैंक लुटेरा पक्राउ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक भारतीयलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
घटना भएको ५७ दिनपछि प्रहरीले लुटेरा समूहको एक जनालाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले बैंक लुट्ने भारत, बिहार राज्यअन्तर्गत पर्ने मधुवनी जिल्ला फुलहर गाउँ गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले महोत्तरीको मटिहानी-८ बाट पक्राउ गरेको जानकारी दिए।
नकाबधारी ४/५ जना लुटेराको समूहले बैंकमा पेस्तोल देखाएर १५ लाख १ हजार ४ सय ९३ नगद र कर्मचारीको मोबाइलसमेत लुटेर फरार भएका थिए। उनीहरु नम्बर नखुलेको दुई वटा मोटरसाइकल चढेर भागेका थिए।
पक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरी चौकीबाट दुई सय मिटर दूरीमा रहेको एनएमबी बैंक लुटिएको थियो।