पिके हाइड्रोपावरको ज्यादतिविरुद्ध संघर्ष समिति गठन



काठमाडौं । पिके हाइड्रोपावरले ज्यादतिको विरुद्धमा कमल सुनुवारको संयोजकत्वमा ५५ सदस्य संघर्ष समिति गठन भएको छ । काठमाडौमा शनिबार आयोजिक एक कार्यक्रममा पीडित वडालाई समेटेर संघर्ष समिति गठन गरिएको हो ।

ओखलढुंगा, रामेछाप र सोलुखुम्बु जिल्लाका केही वडाहरु प्रभावित रहेको तर उक्त वडाका स्थानीयको हितलाई वेवास्ता गर्दै हाइड्रोपावर सञ्चालन गर्नु खोजेको भन्दै संघर्ष समिति गठन गरेको जनाइएको छ । संघर्ष समितिका संयोजक कमल सुनुवारले हाइड्रोपावरले ज्यादति गरेको बताउँदै भने— ‘प्रभावित क्षेत्र पर्नु पर्ने ठाउँ नपारेर पिके हाइड्रोपावरले विभेद गरेको छ । खिजीदेम्बा गाउँपालिकाको ३ र ४ वार्ड लिखु नदीको सिमानामै पर्छ तर प्रभावित क्षेत्र नपार्नुले हाइड्रोको नियत कति सही भनेर ?’

त्यस्तै, रामेछाप उमाकुण्ड गाउँपालिकाको वडा ५ पारिएको छैन । सोलुखुम्बु जिल्लाको गोली मात्रै परेको तर अन्य प्रभावित क्षेत्रलाई समावेश नगरेको संयोजक सुनुवारको दाबी छ । केही स्थानीय दलाल र जल माफिया मिलेर जनतालाई गुम्राहमा राखेर प्राकृतिक स्रोतको दोहोन गरी भ्रष्टाचार गर्नु खोजेको उनको दाबी छ ।

त्यसैले, वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन पुनः गर्नुपर्ने, सम्पूर्ण प्रभावित क्षेत्रका जनतालाई समावेश गर्नुपर्ने संघर्ष समितिका सदस्यहरुले उल्लेख गरेका छन् । संघर्ष समितिका अनुसार यदि पिके हाइड्रोपावरले प्रभावित क्षेत्रका नागरिकको मागलाई वेवास्ता गरे कुनैपनि हलतमा हाइड्रोपावर सञ्चालन गर्न दिइनेछैन ।

प्रभावित क्षेत्रका एक युवाहरुको समूहले विभिन्न गाउँपालिका, राजनीतिक दलका नेता तथा बुद्धिजीविलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । स्रोतका अनुसार केही दिनमा उर्जा मन्त्रालयमा हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिएको छ ।