जगदुल्ला आयोजना बन्न नदिने षड्यन्त्रमा को–को ? नक्कली इमेलको प्रहरीले छानविन गर्ने



काठमाडौं । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर कम्पनीको निर्माण प्रकृया रोक्न विभिन्न समूह सकृय भएर लागेका छन् ।

कानूनी प्रकृया अनुसार टेण्डर आह्वान गरी नेपाली कम्पनी एएनके कन्स्ट्रक्सनसँग जेभी गरेको चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (जेसीई)ले ठेक्का पाइसकेको अवस्थामा त्यसलाई रोक्न चलखेल भएको हो ।

प्रविधिक मूल्यांकनमै अयोग्य ठहर भएको भारतीय कम्पनी सीउ इन्फ्रास्ट्रक्चर लिमिटेड (एसआईएल) पनि ठेक्का प्रकृया रोक्न लागि परेको छ ।

आफूले ठेक्का नपाएपछि अदालतसम्म पुगेको एसआईएल स्टे अर्डर नपाएपनि कुनै पनि हालतमा अयोजना रोक्न लागि परेको छ ।

नेपाली बैंकहरुको लगानी रहेको यो आयोजनाले आर्थिक र प्राविधिक प्रस्ताव खोलिसकेको छ भने अब सम्झौताको चरणमा छ ।

नेपाली बैंकहरुको लगानी डुबाउन प्रेम भट्टराईको समूह सक्रिय रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक कर्मचारी बताउँछन् ।

आयोजनाले ठेक्का पाएको चिनियाँ कम्पनी जियाङ्सीसँग सम्झौताको तयारी गरिरहेका बेला केही व्यक्तिहरु जगदुल्लाविरुद्ध विरोध गर्दै हिंडिरहेको खुलेको छ ।

स्रोतका अनुसार रञ्जित झा, भिम घिमिरे, भट्टराईलगायतको समूहले सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी हालेर नेपालीहरुले बनाउन लागेको आयोजना रोक्न लागि परेका छन् ।

उक्त समूहले जियाङ्सीले विदेशमा काम नगरेको भन्दै विभिन्न निकायमा उजुरी हालेका छन् । त्यतिमात्रै होइन विदेशी कम्पनीको नाममा नक्कली इमेल खडा गरी हाइड्रोसम्बन्धी काम नगरेको भन्दै विभिन्न निकायहरुमा चिठी पठाएको समेत खुलेको छ ।

आयोजनाले छानविन गरी दोषीमाथि कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई गुहार्ने तयारी गरेको छ । जियाङ्सीले विदेशमा गरेको कामलाई होइन भनेर उक्त समूहले विदेशी कम्पनीको नामको नक्कली इमेल बनाई विभिन्न निकायमा पत्राचार गरेपछि जगदुल्लाले प्रहरी गुहार्न लागेको आयोजनाका एक अधिकारीले बताएका छन् ।

जगदुल्लाका सिइओ सञ्जय सापकोटाले इमेलको आधिकारिकता र वास्तविकता बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) को १३ अर्ब बराबरको ठेक्का चिनियाँ र नेपाली जेभी कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र एएनके कन्स्ट्रक्सनले पाएका हुन् ।

जगदुल्लाको कुल लागत २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उक्त आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।