

आर्मीका यी ५ खेलाडी परे कारबाहीमा, कसलाई के कारबाही ?

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए प्रतियोगिको पुरुषतर्फ तृतीय स्थान हासिल गरेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका ५ खेलाडी कारबाहीमा परेका छन् ।
गण्डकीसँगको खेलका क्रममा दर्शकमाथि कुटपिट गर्न उत्रिएका खेलाडीका साथै टिमको कप्तानी गरेका ५ जनालाई अनुशासन समितिले कारबाही गरेको हो ।
अनुशासन समितिका अनुसार आर्मीका कप्तान हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ भने धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
त्यस्तै प्रतियोगिताकै उत्कृष्ठ ब्लकर घोषित दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्याउने गरी चेतावनी दिइएको छ ।
त्यस्तै विवादित खेलको रेफ्रीको मुख्य भूमिकामा रहेका चित्र जंग गुरुङ र दोस्रो रेफ्रि (सेकेन्ड रेफ्री) अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरिएको छ ।
संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजक रहेको छानविन समितिले कारबाहीको सिफारिस गरेको हो । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।
शनिबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फको विजेता टिप टप हेल्प नेपालले ६ लाख, उपविजेता नेपाल पुलिस क्लबले तीन लाख, तेस्रो भएको आर्मीले १ लाख ५० हजार प्राप्त गरेका थिए ।