विश्वविजेताविरूद्ध नेपाललाई जितका लागि ३४० रनको लक्ष्य



काठमाडौं । विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा जितका लागि नेपालले विशाल लक्ष्य पाएको छ ।

विश्वविजेता वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएपछि नेपालले जितका लागि ३४० रनको लक्ष्य पाएको हो ।

वेस्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पुरनले उत्कृष्ट ब्याटिङ गर्दै उच्च रन स्कोरसम्म पुरयाएका थिए । एक समय ५५ रनमा ५ विकेट गुमाएको वेस्ट इन्डिजले सुधारिएको प्रदर्शन गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले सुरुवातमै सफलता दिलाए पनि मध्यक्रममा होप र पुरनले उत्कृष्ट साझेदारी गर्दै नेपालको बलिङ आक्रमण ध्वस्त पारेका थिए । पुरनले विस्फोटक ९४ बलमा ११५ रन बनाए भने कप्तान होपले १३२ रन बनाए ।

उनलाई अन्तिम ओभरमा ललित राजवंशीले आउट गराएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका लागि ब्रान्डन किङले ३२ रन बनाए भने रोभमान पावेलले २९ रन बनाए ।

त्यसपछि आएका जेसन होल्डरले १६ रन बनाए । त्यस्तै कप्तान हाेप बाहिरिएपछि मैदान प्रवेश गरेका केमो पावेल १ रनमा ललितको बलमा बोल्डअाउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । ललितले १० ओभरमा  बलिङ गर्दै ५२ रन दिएर ३ विकेट हात पारे । उनले इनिङको अन्तिम बलमा पावेललाइ बोल्ड गरेका थिए ।

सन्दीपले १० ओभरमा ५० रन दिएर १ विकेट हात पारे । त्यस्तै करण केसीले १० ओभरमा ८१ रन खर्चिएर १ विकेट लिए । उनी सर्वाधिक महंगो सावित भए ।

अब केही बेरमा नेपालले ब्याटिङ सुरु गर्नेछ ।