यीनै हुन् ड्युटीमा रहेका ५ मातहतका कर्मचारी कुट्ने सशस्त्र इन्स्पेक्टर राई



झापा । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीबाट सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईले झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका पाँचजना हवल्दारलाई कुटपिट गरेका हुन् ।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।

उनीहरुलाई इन्स्पेक्टर राईले मेची खोलाको पानीमा चोपल्दै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे बताउँदै एक प्रहरी भन्छन्, ‘हेल्मेटै हेल्मेटले हानेर हेल्मेट नै फुट्ने गरी कुट्नुभयो, बाइकबाट खेदाउँदै ल्याएर अनि पानीमा चोपल्दै गोरूलाई कुटे जस्तै गरी ड्याम कि ड्याम कुट्नुभयो ।’

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेका थिए । त्यतिबेला ड्युटीमा नभएका भान्छे र सञ्चारका कर्मचारीमाथि पनि कुटपिट भएको जनाइएको छ ।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । इन्स्पेक्टर राई र तामाङ यसअघि पनि पटकपटक अमर्यादित क्रियाकलाप गरेबापत कारबाहीमा परेका थिए ।

 

… र यो पनि…

ड्युटीमा रहेका हवल्दारलाई इन्स्पेक्टरले कुटेपछि…