

प्रहरीको तीन महिने तालिम सकेका गदालले गरे खुकुरी हानी युनाको हत्या, आफूले गरे आत्महत्याको प्रयास

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–१, घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या भएको छ ।
सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी—१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।
गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डीएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।