खिजिदेम्बाको वडा कार्यालय सार्ने बाटो खुल्यो, अदालतद्वारा निर्णयविरुद्ध परेको निवेदन खारेज

ओखलढुंगा – ओखलढुंगाको खिजिदेम्बामा वडा पालिका र गाउँपालिका विरुद्ध परेको रिट निवेदन खारेज भएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ४ को वडापालिको कार्यालय सार्ने सम्बन्धमा उच्च अदालत विराटनगर अस्थाई इजलास ओखलढुंगामा दिईएको रिट निवेदन खारेज भएको हो ।

तत्कालिन खिजिकातीको डिर्गबु भन्ने स्थानमा रहेको वडा पालिका कार्यालय सबै नागरिकलाई अपायक परेकोले सञ्जबारी भन्ने ठाउँमा सार्नको लागि वडा पालिकाले गाउँपालिकालाई निवेदन दिएको थियो ।

सञ्जबारीमा भौगोलिक हिसाबले सबै वडाबासीलाई पायक पर्ने, जग्गा मापदण्ड अनुसार रहेको र सबै कुराले उपयुक्त ठाउँ भएको स्थानिय कमल सुनुवारले बताए । सुनुवारका अनुसार तत्कालिन वडापालिकाको कार्यालय विद्यालयको प्राङ्गणमा रहेको र जग्गा पनि मापदण्ड अनुरुप पुगेको थिएन ।

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ (७) मा कुनै पनि वडाको केन्द्र हेरफेर गर्न आवश्यक भएमा वडा समितिको परामर्शमा गाउँसभा वा नगरसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी वडा केन्द्र हेरफेर गर्न सक्ने छ, भन्ने व्यवस्था रहेको छ ।

त्यहि व्यवस्था अनुरुप पालिकाले २०७९ फागुन २० गते वडा कार्यालय सार्ने सम्बन्धमा भएको गाउँसभा मार्फत दुई तिहाई बहुमतले पारित गरेको थियो । उक्त वडा पालिका कार्यालय सार्ने निणर्य विरुद्धमा वडाका मोहन बहादुर खत्री लगायत ६ जना स्थानियले २०७९ पुस १३ गतेका दिन कार्यालय सार्ने निर्णय खारेज सम्बन्धि अन्तरिम आदेश जारी गर्न भन्दै उच्च अदालतमा पहिलो चोटी रिट निवेदन दिएका थिए ।

खत्री लगायतका निवेदकहरुले पुन २०७९ चैत्र २ गते अन्तरिम आदेश जारी गरिपाउँ भनि  निवेदन दिएको बुझिएको छ । सोही मुद्धालाई आज सोमबारका दिन अस्थाई इजलास ओखलढुंगा संयुक्त इजलास  नं १ मा माननिय न्यायधिसद्धय बीर बहादु डाँगी र शकुन्तला घिमिरेद्धारा रिट निवेदन खारेज गरिदिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *