

कांग्रेसमा पनि दुईचिरा, पाैडेलले गरे आफूपक्षीय केन्द्रीय सदस्यको भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादको असर नेपाली कांग्रेसमा पनि देखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देखिएको राजनीतिक घटनाक्रमका विषयमा नेपाली कांग्रेसमा पनि दुईमत देखिएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन्। आज मध्यान्ह पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेको जनाइएको छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पौडेलले भेला गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा पौडेलले तत्काल पार्टी आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका छन्। यसबारे बुधबार केन्द्रीय समितिमा केही विवादसमेत भएको थियो।
पौडेलले पार्टी तत्काल आन्दोलनमा जानुपर्ने धारणा राखे पनि सभापति शेरबहादुर देउवा र उनी पक्षका केन्द्रीय सदस्य केही दिन पर्खेर आन्दोलनमा जाने निर्णय गर्ने बताएका छन् ।
ओलीको कदमबारे सर्वोच्चमा रिट परेकोले आदेश आएपछि मात्रै आन्दोलनमा जाने देउवा पक्षले जनाएको छ ।