

को हुन् बेगनासतालमा मृत भेटिएका परराष्ट्रका नायब सुब्बा ?

पोखरा । पोखरा बेगनास तालमा मृत भेटिएका परराष्ट्र मन्त्रालयका नायब सुब्बाको पोष्टमार्टमको तयारी गरिएको छ । विराटनगर राजवंशी चोक स्थायी घर र परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासु पदमा कार्यरत अनुप भण्डारी बेगनास तालमा डुबेको अवस्थामा सोमबार बिहान मृत भेटिएका हुन् ।
सोमबार बिहान स्थानीय जनताले तालमा शव घोप्टो परेको अवस्थामा देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले मृतकले लगाएको लुगामा रहेको परिचयपत्रका आधारमा उनलाई पहिचान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जनाए ।
‘तालको छेउको पानीमा घोप्टो परेका अवस्था मृत फेला परेका हुन्, घटनास्थल मुचुल्का कार्य भएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने, ‘बेगनास तालको डुंगा घाटभन्दा ४÷५ सय मिटर पर तालमा मृत भेटियो । झोला छ, झोलामा मोबाइल र १०र१२ हजार पैसा रहेछ । औषधि पनि रहेछ, चप्पल छ, छाता छ ।’
शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
भण्डारी आइतबार बिहान १० बजे अफिस जान भनेर हिँडेका थिए । काठमाडौं काँडाघारीमा डेरामा बस्दै आएका उनी बिहान साढे ९ बजे अफिसका लागि निस्किएको र दिउँसो २ बजे पोखरा आफू पोखरा घुम्न आएकोले कोठा राम्ररी बन्द गर्दिनू भनेर घरबेटीलाई फोन गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी दिउँसो १ बजेको सौर्य एयरको फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको र विराटनगरमा आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।