

अस्पतालबाट शव निकाल्न लहान मेयर चौधरीले गरे २५ हजार सहयोग

लहान । लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले सामाजिक अभियान्ता विरेन्द्र सदाको शव ल्याउन नगद रु २५ हजार दिने प्रतिबद्धता जनाएका छन् । मिर्चैया नगरपालिका वडा नम्बर–५ बस्ने सामाजिक अभियान्ता सदाको शव अहिले न्युरो अस्पताल बिराटनगरमा राखिएको छ ।
लामो समयसम्म उपचार गर्दा पनि निको नभएपछि यही वैशाख १९ गते मृत्यु भएका सदाको शव अस्पतालले उपचार रकम भुक्तानी नभएका कारण बाहिर निकाल्न दिएको छैन । अस्पतालले शवसँगै उनको छोरालाई पनि बन्धन बनाएको जनाइएको छ ।
करिब ३ लाख रकम तिर्न बाँकी रहेको बुझिएको छ । ब्रेन ह्याम्रेजका कारण सदाको यही २०८० वैशाख १९ गते विहान ३ बजे निधन भएको थियो । पैसा तिर्न नसकेपछि शवलाई तीनदिन देखि अस्पतालमै राखिएको छ ।
सामाजिक संजालको माध्यमले उद्धारको लागि चौतर्फी प्रयासहरु भैरहेको छ । उनि विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आईरहेका थिए ।