

सिक्किम हिमपहिरोमा परी चितवनका २ र बुटवलकी एकसहित ७ को मृत्यु, ३ नेपालीसहित १३ जना घाइते

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
स्थानीय समय मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
१४ जनालाई उद्धार गरेर नजिककै आर्मी क्याम्पको अस्पतालमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय क्षेत्र गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।