तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

तनहुँ १ मा राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुँदा खाली रहेको छ भने बारा २ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त स्थान खाली रहेका छन्् ।

त्यसअघि आयोगले चितवन क्षेत्र नं. २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नेगरीनिर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरेको जनाएको छ ।

आयोगले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा माननीय श्री रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभई तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रिक्त भएको र २०७९ चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा माननीय श्री रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभई बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य रिक्त भएको हो ।’