आसिफको शतकका साथ नेपालले दियो पीएनजीलाई २९८ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यी दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

पीएनजी  ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।